पूर्व उपराष्ट्रपति पुनका परराष्ट्र विज्ञ गुरूङ १५ लाख धरौटीमा रिहा

 #अपराध     ५ चैत्र २०८०, सोमबार १७:११     36 जनाले पढ़िसके



Spread the love

१४ किलो सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र विज्ञ जीवनकुमार गुरूङलाई धरौटीमा छाडिएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरूङलाई १५ लाख धरौटी माग गरेको थियो।

उक्त धरौटी बुझाएर गुरूङ छुटिसकेका छन्।

उनीविरूद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो।

अनुसन्धानका लागि पक्राउ गरिदिन भन्दै भन्सार कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेको थियो। त्यसपछि सिआइबीले उनलाई फागुन १४ गते पक्राउ गरेको थियो।

उनलाई पक्राउ गरी अनुसन्धानका लागि भन्सार कार्यालयमै बुझाइएको थियो। अदालतमा पेश हुँदा उनी १५ लाख धरौटीमा छुटेका हुन्।

विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो। त्यतिबेला भन्सार कार्यालयले विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरेको थियो।

भन्सार कार्यालयले यसमा मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो। यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने/मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको हो। डनबहादुर भने फरार थिए।