बागमती सरकारबाट कांग्रेसका ६ मन्त्रीले दिए राजीनामा

 बागमती प्रदेश     २३ फाल्गुन २०८०, बुधबार १८:४५     36 जनाले पढ़िसके



Spread the love

मकवानपुर । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस अलग भएको हो ।

सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका ६ जना मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन् ।

उनीहरूले मुख्यमन्त्री कार्यालय हेटौँडामा उपस्थित भएर राजीनामा दिएका हुन् ।

संसदीय दलको उपनेता समेत रहेका रामकृष्ण चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए । कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।