कोशी प्रदेश: विश्वासको मतविरुद्धको रिटको सुनुवाई सोमबारदेखि पूर्ण इजलासमा हुने

 कोशी प्रदेश     १७ भाद्र २०८०, आईतवार १६:४४     49 जनाले पढ़िसके



Spread the love

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा लिएको विश्वासको मतविरुद्ध परेको रिटको अन्तिम सुनुवाई पूर्ण इजलासबाट हुने भएको छ।

आइतबार न्यायाधीश सपना प्रधानमल्ल र सुष्मलता माथेमाको इजलासमा पेशी तोकिए पनि थापा पक्षले पूर्णइजलास (ती जना न्यायाधीश)बाट सुनुवाइ गर्न माग गरेपछि विषयवस्तुमा प्रवेश नै नगरी सोमबारदेखि सुनुवाइ गर्न आदेश दिएको हो।

एमाले संसदीय दलका नेता मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दर्ता गराएको उक्त रिट गत आइतबार न्यायाधीश द्वय: ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि खतिवडाले हेर्न नमानेपछि आइतबारका लागि पेशी तोकिएको हो।

नेकपा एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते नेपाली कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए। विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो।

रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले थापालाई काम चलाउ मुख्यमन्त्रीका रुपमा मात्रै काम गर्न आदेश दिएको थियो।