मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको के.पी. ओलीको दाबी

 एमाले     १३ श्रावण २०८०, शनिबार १८:४४     245 जनाले पढ़िसके



Spread the love

नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन्।

शनिबार नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताए।

ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्नसक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको प्रष्ट पारे। एमाले मिसन ८४ मा केन्द्रित रहेको भन्दै ओलीले यसलाई सफल बनाउँदै पार्टी बहुमत आउने गरी तयारी गर्न निर्देशन दिए।

उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याए पनि एमालेको नीतिहरूसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने बताए।

अहिले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सक्रिय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई उनले निर्देशन दिए।