निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण पेस

 निर्वाचन आयोग प्रदेश तथा संघ निर्वाचन २०७९     २९ मंसिर २०७९, बिहीबार १२:२५     89 जनाले पढ़िसके



Spread the love

काठमाडौं। निर्वाचन आयोगले मंसिर-४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।

राष्ट्रपति भवनमा बिहीबार आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन्।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो ।सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताउँदै यस निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएको उनले जानकारी गराए । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उनको भनाइ छ ।