लेबनानमा वाकिटकी आक्रमणमा २० जनाको मृत्यु

 संवाददाता    ३ आश्विन २०८१, बिहीबार १८:११     2 जनाले पढ़िसके



Spread the love

लेबनानमा श्रृंखलाबद्ध वाकी–टकी सेट विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ ।

हिजबुल्लाह लडाकु समुहले प्रयोग गर्ने सञ्चार उपकरण एकसाथ विष्फोट हुँदा उनीहरुको मृत्यु भएको हो । घटनामा परि ४ सय ५० जना घाइते भएका छन् । अघिल्लो दिन पेजर विष्फोटमा मारिएका आफ्ना लडाकुहरुको अन्तिम संस्कार चलिरहँदा सोही शैलीमा वाकी–टकी रेडियो सेटहरु विष्फोट भएको हो ।

यसअघि मङ्गलवार पनि कुराकानीका लागि प्रयोग हुने पेजर विस्फोट हुँदा लेबनानमा १२ जनाको मृत्यु भएको थियो भने २८ सयजना घाइते भएका थिए । पछिल्लो दुई घटनाले लेबनानमा हिजबुल्लाह लडाकुले प्रयोग गर्ने सबै सञ्चार उपकरणहरु इजरायली गुप्तचरको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इजरायलले प्रविधि ह्याक गरि आफ्ना सञ्चार उपकरणहरु विष्फोट गराएको हिजबुल्लाहको आरोप छ । बिहीबार हिजबुल्लाह नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको समाचारमा उल्लेख छ । त्यसपछि हिज्बुल्लाहका थप योजना अनुमान गर्न सकिनेछ । इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।