दुप्चेश्वरमा नुहाउने क्रममा एक तीर्थयात्री बेपत्ता

 संवाददाता    ३१ भाद्र २०८१, सोमबार २०:१०     35 जनाले पढ़िसके



Spread the love

त्रिशूली (नुवाकोट) । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा सोमबार खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् ।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आएकी ७२ वर्षीया अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ ।

खोलाले बगाएलगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।