रसुवा नाका भएर भित्रिएको २ लाख किलो जिलेटिन टिमुरेको बस्तीमा अलपत्र

 संवाददाता    ३० भाद्र २०८१, आईतवार १६:२८     8 जनाले पढ़िसके



Spread the love

जिलेटिन शक्तिशाली बिस्फोटक पदार्थ हो । औद्योगिक प्रतिष्ठान, विकास निर्माण आयोजना लगायतका क्षेत्रमा यसको प्रयोग हुन्छ ।

यो नाइट्रोग्लिसरिन, सल्फर र अमोनियम नाइट्रेटको संयोजनबाट बनेको हुन्छ । बिस्फोटक सामग्रीहरूको आपूर्ति, ओसारपसार र भण्डारणलाई व्यवस्थित गर्न नेपाल सरकारले अलग्गै कानुनी प्रबन्ध गरेको छ । यसको प्रयोग गर्दा अति सावधानी अपनाउनु पर्छ । यसको प्रयोगमा केही तलमाथि भएमा यसले निकै हानी पुर्याउँछ । मानिसको ज्यान समेत जाने खतरा हुन्छ । यस्तो सम्वेदनशील विषयमा सबैले सतर्कता अपनाउन जरुरी छ ।

यसै सन्दर्भमा रसुवाको केरुङ नाकामा केही दिन अघि चाइनिज र नेपाली ट्रकमा लोड गरेर अलपत्र राखिएको २ लाख किलो जिलेटिन भेटिएको थियो । सुरक्षा सम्वेदनशीलता र उच्च सतर्कता अपनाएर त्यसको ब्यवस्थापन गरेर राखिनु पर्ने थियो । तर त्यो जिलेटिन कसरी र के प्रयोजनका लागि ल्याइएको हो भनेर सरकारी निकाय बेखबर रहेको देखियो ।

रसुवा जिल्लाका भन्सार,सुरक्षा निकाय र प्रशासन नै त्यस्तो सम्बेदनशील पदार्थ भित्रिदा समेत बेखबर हुनु नेपालको सुरक्षा संयन्त्र र सरकारी प्रशासन कति सम्मको गैर जिम्मेवार रहेछ भन्ने कुराको यो दरिलो प्रमाण हो ।

केरुङ नाका हुँदै चीनबाट २ लाख किलो जिलेटिन नेपाल भित्रिदै गर्दा भन्सार प्रशासन,प्रहरी र जिल्ला प्रशासनलाई थाहा हुनु पर्ने होनि,तर त्यो कुरा कसैलाई थाहा नहुनु लाजमर्दाे विषय हो । रसुवाको भन्सार कटेर ४ किलोमिटर टाढा त्यहाको बाक्लो बस्ती टिमुरेमा जिलेटिन बोकेर मालबाहक चिनिया ट्रक कसरी आइपुगे ? यसको उत्तर नत भन्सारले दिन सक्यो ? नत प्रहरीले,नत प्रमुख जिल्ला अधिकारी बेद निधि खनालले नै दिन सके । खनालले यसबारे आफूलाई थाहा नै नभएको जवाफ दिए ।

जिल्लाको नेतृत्व गरेर बसेको प्रशासन प्रमुखलाई यस्तो गम्भीर र संवेदनशील कुरा थाहा हुँदैन भने जनताले सर्वसाधारण भने कसरी थाहा पाउने ? बिस्फोटक पदार्थ मानव बस्तीको छेउमा राख्दा त्यसको सम्वेदनशीलता हेरेर त्यसका तत्काल कदम चाल्नु पर्नेमा सबै सरकारी निकाय बेखबर हुनु पटक्कै सुहाउँदो कुरा होइन । २ लाख किलो जिलेटिन बिस्फोट भएमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी कसले लिने ?