दाउरा खोज्दा किशोरले गुमाए ज्यान

 संवाददाता    ३० भाद्र २०८१, आईतवार ०९:३५     7 जनाले पढ़िसके



Spread the love

कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ ऐरीका १८ वर्षीय सौरभ नेपाली र १६ वर्षीया अभि नेपाली नातामा दाजुभाइ पर्छन् । सौरभ न्यु सरस्वती विद्या मन्दिरमा कक्षा १२ र अभि पूर्णा माविमा अध्ययनरत थिए । शनिबार विद्यालय बिदाका दिन अरू गाउँलेजस्तै उनीहरू पनि दाउरा ल्याउन भनी महाकाली नदीमा गए ।

सुदूरपश्चिममा दुई दिन लगातार भारी वर्षा भएपछि महाकालीमा झन्डै साढे चार लाखभन्दा बढी क्युसेक पानी बगेको थियो । त्यही उर्लिँदो महाकाली नदीमा दाउरा निकाल्ने क्रममा अभि र सौरभ बेपत्ता भएका थिए ।

१८ वर्षीय सौरभको शव केही पर दक्षिण झोलुङे पुल क्षेत्रमा फेला परेको छ । अभि नेपाली भने बेपत्ता छन् । स्थानीय अमिर तिरुवाले महाकालीमा स्थानीयले दाउरा निकाल्ने गरेको र बाढीले नदीमा आएको दाउरा निकाल्न जाने क्रममा अभि र सौरभ महाकालीमा डुबेर बेपत्ता भएको बताए । न्यु सरस्वती विद्या मन्दिरका प्रिन्सिपल अम्मराज भट्टले निकै मिहिनेती विद्यार्थी गुमाउनु परेको बताए । ‘सौरभ शिशु कक्षादेखि हाल १२ सम्मै न्यु सरस्वती विद्या मन्दिरमै अध्ययन गर्दै आएका थिए, निकै मिहिनेती थिए, तर दाउरा निकाल्ने क्रममा उनको ज्यान गएको घटनाले हामी स्तब्ध भएका छौँ,’ उनले भने ।’

भीमदत्त नगरपालिका– १२ का वडाध्यक्ष भूपेन्द्रसिंह रावलले बाढी आएका वेला जोखिम मोलेर दाउरा निकाल्न नहुने बताए । उनले विगतमा पनि दाउरा निकाल्ने, माछा मार्ने क्रममा मानिस महाकालीमा डुबेर मृत्यु हुने भएकाले प्राकृतिक विपत्तिबाट जोगिनुपर्नेमा जोड दिए । महाकाली नदीमा बाढी आएसँगै पहाडबाट बगेर आउने दाउरा निकाल्न तटीय क्षेत्रका स्थानीयले जोखिम मोल्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेपत्ता अर्का किशोरको खोजीकार्य भइरहेको जनाएको छ । महाकाली नदी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।