पश्चिम नेपालमा रातिदेखि नै वर्षा, काठमाडौंमा अपराह्नपछि पानी पर्ने

 संवाददाता    २७ भाद्र २०८१, बिहीबार ०८:३५     3 जनाले पढ़िसके



Spread the love

भदौ, काठमाडौं । लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो ।

बुधबार रातिदेखि नै मनसुन सक्रिय हुँदा पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, कञ्चनपुर लगायतका जिल्लाहरुमा बढी वर्षा भएको देखिन्छ ।

वर्षाको मात्रा अझै बढ्ने सम्भावना छ । खासगरी बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा अत्यधिक वर्षाको सम्भावना छ ।त्यसैले ती जिल्लाहरुलाई मौसम पूर्वानुमान महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।

महाशाखका मौसमविद गोविन्द झाका अनुसार भारतको मध्यप्रदेश आसपासमा अवस्थित मनसुनको न्यून चापीय प्रणाली थप विकसित भई उत्तरपश्चिमतिर अर्थात् नेपाल नजिक सर्ने सम्भावना छ ।

त्यसको प्रभावले नेपालको पश्चिमी भूभागमा बढी वर्षा भएको हो । मौसमविद झाले भने, ‘मनसुनको असर देशैभरी रहे पनि बढी प्रभाव पश्चिम भूभागमा देखिने छ । त्यसैले विशेष सतर्कता अपनाउनु जरुरी छ ।’

मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ८ जिल्लालाई उच्च जोखिमको सूचीमा राखे पनि मधेशदेखि सुदूरपश्चिमसम्मका १९ जिल्लामा मध्यम जोखिमको सम्भावना छ ।