इजरायली आक्रमणमा २७ प्यालेस्टिनी मारिए

 संवाददाता    २६ भाद्र २०८१, बुधबार १९:०८     36 जनाले पढ़िसके



Spread the love

इजरायली सेनाले गाजाका विभिन्न स्थानमा बुधबार गरेको आक्रमणमा कम्तीमा २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खान युनिस क्षेत्रमा गरिएको आक्रमणमा १३ जना प्यालेस्टिनी मारिएका हुन् ।

रफाहमा गरिएको आक्रमणमा ४ जनाले ज्यान गुमाएका अलजजिराले जनाएको छ । आक्रमणमा १५ जना घाइते भएका छन् ।त्यस्तै विभिन्न स्थानमा गरिएका आक्रमणमा थप प्यालेस्टिनीले ज्यान गुमाएका हुन् ।

इजरायलले मंगलबार अल–मवासीमा गरेको आक्रमणको अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा भइरहेका बेला बुधबार थप आक्रमण गरेको हो । इजरायली सेनाले मंगलबार अमेरिकामा निर्मित ९ सय ७ किलोको ‘एमके–८४’ बम प्रहार गरेपछि कम्तीमा १९ जनाको ज्यान गएको थियो । अल जजिराका अनुसार आक्रमणमा ६० जना घाइते भएका थिए ।

इजरायली सेनाले रफाहमा गरिएको आक्रमणमा हमास कमान्डर महमुद हमदानको ज्यान गएको बताएको छ । ड्रोन निगरानीका क्रामा हमासका चारवटा आश्रयस्थल पत्ता लगाइ आक्रमण गरिएको सेनाको दाबी छ ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको थियो । त्यसयता इजरायलले गाजामा गरेका आक्रमणमा ४१ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा धेरैजसो महिला र बालबालिका छन् ।