कांग्रेसले भन्यो : उपसभामुख मगरले मार्गप्रशस्त गर्नुपर्छ

 #प्रतिनिधी सभा वैठक     २६ भाद्र २०८१, बुधबार १३:१४     96 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरमाथि उठेको प्रश्न गम्भीर रहेको ठहर गर्दै मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले उपसभामुख रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको ठहर गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

“यो चानचुन विषय होइन, उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ, संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ”, बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, “हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।” सत्ता गठबन्धनभित्र उनलाई पदबाट हटाउने विषयमा सहमति भइसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले भने यसबारे थप सत्ता गठबन्धनभित्र छलफल गर्ने निर्णय पनि प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरी आफूसहित छ जनाको भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । दूतावास लेखेको पत्र बाहिरिएपछि उनी विवादमा तानिएकी थिइन् ।

उक्त पत्रअनुसार दूतावासले अन्तर्वार्ताको मिति नमिलाएपनि उक्त विषय राष्ट्रहित विपरित र पदीय गरिमाविपरित भएको भन्दै सत्तारुढ दलहरूले आपत्ति जनाउँदै आएका छन् ।