तीन लाख वर्तालुले गरे पशुपतिनाथको दर्शन

 चाडपर्व     २१ भाद्र २०८१, शुक्रबार १८:२५     81 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।

आज चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

पशुपतिनाथको दर्शनका लागि अझै धेरै व्रतालु लामो लाममा बसेका छन् । व्रतालु लाममा बसेसम्म आज दर्शन गर्न दिइने कोषले जनाएको छ । पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो ।

बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो । मूल मन्दिरभित्र प्रवेश गरिसकेपछि एउटा ढोकामा दुईदेखि तीन लामको व्यवस्था गरिएको उनले बताए ।

तीजका अवसरमा प्रथम महिला सविता पौडेलले आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम छ । यसैगरी तीजको व्यवस्थापन अवलोकन गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे पनि पशुपति क्षेत्र जाने जनाइएको छ ।

पर्वका अवसरमा मूल मन्दिरभित्र करिब छ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा आज वर्तालु महिलालाई मात्र प्रवेश गराएको छ । धेरैभन्दा धेरै महिला वर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले आज विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए ।