ग्रिसको निस अट्रोमिटाउ क्लबले राष्ट्रिय टोलीकी कप्तान अञ्जिलालाई एक वर्षका लागि गर्‍यो अनुबन्ध

 संवाददाता    १८ भाद्र २०८१, मंगलवार ०८:४७     35 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपको लिग खेल्ने भएकी छिन् । ग्रिस महिला सुपरलिग क्लब निस एट्रोमिटाउले गोलरक्षक अञ्जिलालाई एक वर्षका लागि सम्झौता गरेको छ । उनले सिजन २०२४/०२५ को लिग खेल्नेछिन् । युरोपियन लिग खेल्न उनी दोस्रो नेपाली महिला खेलाडी हुन् । यसअघि नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रेन्च लिगमा आबद्ध भएकी थिइन् । इजरायलको लिगपछि सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एन इभान्ट गुइनगाम्पमा छिन् ।

अञ्जिलाले पहिलोपटक एसियाबाहिर लिग खेल्न लागेकी हुन् । युरोपको क्लबबाट खेल्न पाउँदा आफू ज्यादै उत्साहित रहेको उनले बताएकी छिन् ।‘करिअरमा पहिलोपटक युरोपियन लिग खेल्दै छु र धेरै खुसी छु,’ उनले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । मेरो पनि थियो । दुई वर्षदेखि लगातार प्रयासमा थिएँ । अहिले त्यो पूरा हुने भएको छ ।’

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध अञ्जिला आबद्ध निसको प्रदर्शन औसत रहेको छ । ग्रिस महिला लिगमा निसले गत सिजन ०२३/०२४ मा औसत प्रदर्शन गरेको थियो । १४ क्लब सहभागी लिगमा निस नवौँ स्थानमा रह्यो । निसले २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ खेलमा हार व्यहोरेको थियो ।

अञ्जिला ग्रिसको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् । यसअघि उनले भारतको लिगमा दुई सिजन बिताएकी थिइन् । उनले पाकिस्तानमा एक सिजनका लागि आबद्ध जनाएकी थिइन् । भारतमा सेथु तथा पाकिस्तानमा मासा युनाइटेडबाट उनले कप्तानीको आर्म ब्यान्ड लगाएकी थिइन् ।

साउदीबाट पनि खेल्ने अवसर
नेपाली राष्ट्रिय टोलीकी प्रभावशाली गोलरक्षक अञ्जिलालाई ग्रिसको निसले सम्झौता गर्नुअघि साउदी अरेबियाबाट राम्रो प्रस्ताव आएको थियो । तर, युरोपियन लिग खेल्ने योजना बनाएकी उनले साउदीको लोभलाग्दो प्रस्ताव त्याग्दै ग्रिसलाई रोजिन् । उनले निसले भन्दा साउदी क्लबबाट राम्रो दामका साथ प्रस्ताव राखेको बताएकी छिन् । ‘साउदी लिगबाट पनि राम्रो अवसर आएको छ । सम्झौता रकम पनि राम्रो थियो । तर, मेरो सपना युरोपबाट खेल्नु थियो । यसैकारण मैले निसलाई नै रोजेकी हुँ,’ उनले भनिन् ।