निवर्तमान मन्त्री दीपक मनाङेको मन्त्रालय बेच्ने अभिव्यक्ति

 संवाददाता    १८ भाद्र २०८१, मंगलवार ०८:३८     4 जनाले पढ़िसके



Spread the love

मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध बनेका राजीव गुरुङ अर्थात् दीपक मनाङे गण्डकीमा सत्ता खिचातानीको कार्ड बनेका छन् । उनी डेढ वर्षमा तीनपटक सत्ताको कुर्सीमा पुगे । तर, मनाङेले मन्त्री पदलाई कहिल्यै गम्भीरतापूर्वक लिएनन्, बरु मजाक बनाइरहे । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रालयसँग वरीयता हेरफेर गरिदिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका छन् । राजीनामापछि मनाङेले अधिकार नै नभएको वनमन्त्री बसेर काम नभएकाले राजीनामा दिएको र अब खानै परे मुख्यमन्त्री पाएको खण्डमा विचार गर्ने नत्र अन्य मन्त्रालय नचाहिने प्रतिक्रिया दिए ।

‘प्रदेशको वनमन्त्रीलाई वन हेर्ने अधिकार नै छैन, अधिकार नभएको मन्त्रालयमा बसेर के गर्ने । जुन दिन वन हेर्ने अधिकार प्रदेशको मन्त्रीलाई हुन्छ, त्यही दिन वनमन्त्री बनुँला,’ पदबाट राजीनामा दिएपछि मनाङेले नयाँ पत्रिकासँग भने, ‘वनमा रहेका वनमारा र तितेपाती झार हेर्नलाई मात्र मन्त्री किन चाहियो र ? मेरो स्वभाव केही काम गरौँ भन्ने छ, काम नै नहुने मन्त्रालयको मन्त्री बनेर के गर्नु ?’

एमाले चार मन्त्रालयसहित सरकारमा आएपछि मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधारबाट वन मन्त्रालयमा सरुवा गरेका थिए । यसअघि पाँचसदस्यीय मन्त्रिपरिषद् रहँदा तेस्रो वरीयतामा रहेका मनाङे हाल नौ सदस्य मन्त्रिपरिषद् बन्दा छैटौँ नम्बरमा पुगेका थिए । आफ्नो वरीयतासँगै मन्त्रालय परिवर्तन गरेपछि उनी शपथग्रहणस्थलबाट रिसाउँदै राजीनामा दिने भन्दै बाहिर निस्किएका थिए । त्यसलगत्तै उनले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री कार्यालयमा राजीनामा–पत्र बुझाएका थिए ।