बागमती सरकारले डीडीसीलाई पाउडर दूध प्लान्ट चलाउन जिम्मा दिने तयारी

 संवाददाता    १७ भाद्र २०८१, सोमबार ०८:३८     18 जनाले पढ़िसके



Spread the love

हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडास्थित धुलो दूध कारखाना सञ्चालनको जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई दिने तयारी गरेको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग सञ्चालनको स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने तयारी गरेको मन्त्रालयका सचिव विनोद भट्टराईले जानकारी दिए ।

भट्टराईले २० भदौभित्र डीडीसीले सञ्चालन कार्ययोजनाको प्रस्ताव पेश गर्ने बताए । उनका अनुसार दुई वर्षसम्म उद्योग नियमित सञ्चालन नगरे उपकरणहरु बिग्रन सक्ने भन्दै तत्काललाई डीडीसीलाई सञ्चालनको जिम्मा दिन लागिएको हो ।

६ भदौ २०८१ मा प्रदेश दुग्ध विकास बोर्डका अध्यक्षसमेत रहेका कृृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले डीडीसीसँग उक्त धुलो दूध कारखाना सञ्चालन कार्ययोजना माग्ने निर्णय गरेको थियो ।

डीडीसीले हेटौंडा उपमहानगरपालिका-१० मा निर्माण गरिएको धुलो दूध कारखाना (पाउडर प्लान्ट) को एक वर्षयता परीक्षणको रुपमा सञ्चालन गर्दै आएको छ ।

मंसिर २०८० मा उद्योग स्थापना हुँदा पनि बागमती प्रदेशको कृषि मन्त्रालयसँग कारखाना सञ्चालन कार्ययोजना थिएन । त्यसपछि प्रदेश दुग्ध विकास बोर्डसँग १४ मंसिर र २२ माघ २०८० मा भएको सम्झौता अनुरुप डीडीसीले परीक्षणका रुपमा सञ्चालन गर्दै आएको हो ।

पाउडर प्लान्ट सञ्चालनको मोडालिटी टुंगो अझै लागेको छैन । ‘सञ्चालन कार्ययोजना नबनाई उद्योग स्थापना गर्नु गलत थियो । अब यसलाई सञ्चालन कार्ययोजना बनाएर छिट्टै टुंग्याउँछौं’, सचिव भट्टराईले भने, ‘निजी क्षेत्रलाई उद्योग दिइने छैन । दुग्ध उत्पादक सहकारीसँगको साझेदारीमा सञ्चालनको मोडालिटी बनाउने गृहकार्य भइरहेको छ ।’

कार्ययोजना बनाउन डेढ वर्ष समय लाग्ने हुनाले त्यतिन्जेल डीडीसीलाई नै सञ्चालन गर्न दिने योजना कृषि मन्त्रालयको छ ।