गाँजा खेतीलाई वैधता नदिन ओलीको आग्रह

 संवाददाता    १७ भाद्र २०८१, सोमबार ०८:३२     12 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गाँजा खेतीलाई वैधता दिने विषयमा धेरै नहौसिन सुुझाव दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिंदै उनले मानवीय स्वास्थ्य र मुलुकको छविमा प्रतिकूल असर पर्ने यस्तो कामलाई प्राथमिकतामा नराख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले सोही मन्त्रालयको उद्योग क्षेत्रसँग सम्बन्धित विषयमा ब्रिफिङ लिएका थिए । त्यसपछि उनले नेपालका खानीजन्य पदार्थको कच्चा पदार्थ बेच्नेभन्दा उद्योग स्थापना गरेर उत्पादन नै गर्नेतर्फ प्राथमिकता दिन निर्देशन दिए ।

उनले चाडबाड खाद्य वस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न पनि निर्देशन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिंदै उनले खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मानवीयता र व्यावसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता गर्न नहुने बताए ।

‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ । यस्ता विषयमा कुनै सम्झौता हुँदैन । कुनै भनसुन चल्दैन’, प्रधानमन्त्रीले भने ।

उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन र निर्यात बढाउन तथा विषादीयुक्त खाद्य पदार्थ आयात–निर्यात नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटको डिपोलाई बस्ती कम भएको स्थानमा स्थानन्तरण गर्न निर्देशन दिए । उनले दैलेखको पेट्रोलियम पदार्थको उत्खनन् कार्य छिटो सक्न आग्रह पनि गरे ।