ममता काफ्ले प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक

 संवाददाता    १६ भाद्र २०८१, आईतवार १८:०५     197 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई थुनामा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष पेश गरिएको तस्वीरहरु सार्वजनिक भएको हो ।

स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभ डटकमले सार्वजनिक गरेको तस्वीरहरुमा भट्टको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिन्छन् ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जिवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।

अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लुस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रङ देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

तर, भट्ट पक्षका वकिलहरुले भने शरीरबिनै गम्भीर अभियोग लगाइएको भन्दै जमानतमा छाड्न माग गरेका थिए । यद्यपि, अभियोजकतर्फका वकिलहरुको बहस सुनेपछि नरेश समाजका लागि खतरा हुनसक्ने भन्दै उनलाई थुनामै राख्ने आदेश भयो ।