क्यानले प्रदेशका खेलाडीलाई मासिक १५ हजार दिने

 संवाददाता    १४ भाद्र २०८१, शुक्रबार १३:४५     12 जनाले पढ़िसके



Spread the love

नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीलाई पनि मासिक तलब दिने भएको छ । क्यान कार्यसमितिको बिहीबारको बैठकले हरेक प्रदेशका तीन पुरुष र दुई महिला गरी पाँचजना खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो । समग्रमा क्यानले प्रदेशका ३५ खेलाडीलाई १ सेप्टेम्बरदेखि लागू हुने पारिश्रमिक दिनेछ । खेलाडीको पारिश्रमिकबापतको रकम क्यानले सम्बन्धित प्रदेशमा पठाउनेछ । प्रदेश क्रिकेट संघले खेलाडीलाई एक वर्षको सम्झौता गर्नुपर्नेछ । यसैगरी, राष्ट्रिय पुरुष टोलीमा रहेका खेलाडीलाई सेन्ट्र‍ल कन्ट्याक्ट गरिएको छ । ‘ए’ ग्रेडमा रहेका खेलाडीले मासिक एक लाख रुपैयाँ पाउनेछन् ।

विश्वकप खेलेकालाई जनही तीन लाख
बैठकले आइसिसी टी–२० विश्वकप खेलेका खेलाडीलाई जनही तीन लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् । खेलाडी र मुख्य प्रशिक्षकले जनही तीन लाख पाउनेछन् । सपोर्ट स्टाफले जनही एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत जुन–जुलाईमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपमा नेपालले टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । वर्षाका कारण नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न पाएन ।

एनपिएलमा आठ टोली
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आठ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । एनपिएलको टोली खरिदका लागि १६ संस्थाले क्यानमा आवेदन दिएका छन् । तर, क्यानको बैठकले प्रतियोगितामा आठ टोली मात्र रहने निर्णय गरेको प्रवक्ता लामाले बताए । एनपिएल १५ मंसिरदेखि ६ पुससम्म हुनेछ । क्यानले सहभागी हुने टोलीको नाम र मालिक सार्वजनिक गरेको छैन । यसैगरी, वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर–अक्टोबरमा कोशी प्रदेशमा आयोजना हुने भएको छ ।

इलिट कप क्रिकेट अक्टोबर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरगन्जमा आयोजना हुनेछ । आइसिसी यू–१९ महिला विश्वकाप एसिया क्वालिफायरको तयारीका लागि १५ सेप्टेम्बरबाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । क्यानले राष्ट्रिय टोलीका पूर्वकप्तान लेखबहादुर क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र समुर्तजा हवारी सदस्य रहने गरी तीन सदस्यीय राष्ट्रिय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ । क्यानको वार्षिक साधारणसभा ११ र १२ असोजमा पोखरामा हुनेछ ।

आदिललाई फुकुवा गर्न आइसिसीको निर्देशनको प्रतीक्षा
अदालतबाट म्याच फिक्सिङ मुद्दामा सफाइ पाएका क्रिकेटर आदिल आलमको फुकुवाका लागि क्यानले आइसिसीको निर्देशनको प्रतीक्षा गर्नेछ । क्यानको अनुशासन समितिले दिएको प्रतिवेदन आइसिसीको एन्टी करप्सन युनिटमा पठाइसकेको छ । आइसिसीबाट प्राप्त निर्देशनअनुसार आदिलको प्रतिबन्ध फुकुवा प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको हो । ‘आलमको निलम्बन फुकुवा प्रक्रियाबारे संघको अनुशासन समितिबाट प्राप्त प्रतिवेदनका सम्बन्धमा छलफल हुँदा सो आवश्यक कागजात क्यानको इन्टिग्रिटी समितिका संयोजकमार्फत आइसिसीको एन्टी करप्सन युनिटमा पेस भइसकेको छ । आइसिसीबाट प्राप्त निर्देशनअनुसार संघबाट निर्णय गर्ने सहमति गरियो,’ निर्णयमा भनिएको छ ।