शेयर बजारमा पहिरो, आज नेप्से ११२ अङ्कले घट्यो

 संवाददाता    ११ भाद्र २०८१, मंगलवार १७:२६     48 जनाले पढ़िसके



Spread the love

 

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ११२ अङ्कले घटेको छ । २८९९ बिन्दुबाट सुरु भएको बजार सामान्य उतारचढावका बिच घटेर २७८२.६० बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

पछिल्ला केही दिनदेखि सेयर बजार भारी अङ्कले घट्न थालेको छ । असार ३१ गते ३००० बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । भदौ २ गते, आइतबार ३४ अङ्कले घट्दै परिसूचक १९६६ बिन्दुमा ओर्लियो ।
त्यसपछिका दुई कारोबार दिनमा नेप्से स्थिरजस्तै देखियो । गएको आइतबार फेरि ८० अङ्कले बजार घट्यो । आज ११२ अङ्कको गिरावट देखियो ।
यसरी बजार घट्नुपर्ने कुनै नीतिगत फेरबदल भएको छैन । सरकार सेयर बजारमैत्री छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले संस्थागत सेयर धितो कर्जाको क्याप हटाएर झन् सहज बनाएको छ । बैंकमा प्रशस्त पैसा छ ।

तर पनि बजार किन ओरालो लाग्न थालेको छ ? सेयर लगानीकर्ता छोटेलाल रौनियार यसअघि नघटीकन लगातार ९९५ अङ्क बढेकाले केही दिन ‘करेक्सन’ मा गएको बताउँछन् । ‘लगातार बढेको बेला लगानीकर्ताहरू नाफा बुक गर्न थालेकाले घट्नुको एउटा कारण हो,’ उनी भन्छन्, ‘अरू त घट्नुपर्ने कुनै कारण छैन । सबै हिसाबले बजारमैत्री नै देख्छु ।’

उनका अनुसार एक चरणमा नाफा कमाइसकेकाले नाफा बुक गर्न थाल्दा बजारमा थोरै करेक्सन आउनु सामान्य नै हो ।

परिसूचकमा भारी अङ्कको गिरावट आए पनि कारोबार रकम भने सुखद देखिएको छ । आज, मंगलबार ३३० कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । यसकारण नाफा बुक नै बजार घट्नुको मुख्य कारण भएको रौनियारको भनाइ छ ।

मनोवैज्ञानिक कारणले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको रौनियार बताउँछन् । उनी भन्छन्, ‘हल्लाको पछाडि लाग्ने र हल्लाकै भरमा किन्ने बेच्नेले पनि केही प्रभाव पारेको हो । तर अहिले घट्नुपर्ने अन्य कारण नभएकाले केही दिनमा बजार फेरि उकालो यात्रामा जान्छ ।’