ढल्यो महाराष्ट्रमा स्थापित छत्रपति शिवाजीको प्रतिमा

 संवाददाता    ११ भाद्र २०८१, मंगलवार ०९:२२     8 जनाले पढ़िसके



Spread the love

काठमाडौं । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ ।

प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए । भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो । एक वर्ष नपुग्दै प्रतिमा ढलेर टुक्राटुक्रा भएपछि विपक्षी दलहरुले त्यसको गुणस्तर र अनावरण गर्ने मोदीको हतारोमा प्रश्न उठाइरहेका छन् ।

कांग्रेसले सामाजिक सन्जाल एक्समा भाजपा नेतृत्वको सरकार भ्रष्टाचार गरेको आरोप लगाएको छ । कांग्रेसले लेखेको छ, ‘भाजपा सरकारमा चरम भ्रष्टाचार छ । करिब ८ महिनापछि छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेको छ । हालत यस्तो छ कि भ्रष्टाचारको मामलामा महापुरुषहरुलाई पनि बाँकी राखिएको छैन ।’

उद्धव बालासाहेब ठाकेरे नेतृत्वको शिवसेनाका विधायक वैभव नाइकले यो घटनाको जाँच गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री एकनाथ शिन्देले ४५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हावाका कारण प्रतिमा ढलेको बताएका छन् । यसलाई दुर्भाग्य भन्दै उनले त्यो ठाउँमा छत्रपति शिवाजी महाराजको प्रतिमा पुनर्निर्माण गरिने बताएका छन् ।

को हुन् छत्रपति शिवाजी महाराज ?

छत्रपति शिवाजी महाराज महाराष्ट्र राज्यको संस्थापक मानिन्छन् । उनले मुगल शासक र औरंगजेबविरुद्ध कयौं युद्ध जितेर मराठा साम्राज्य स्थापित गरेका थिए ।

उनको गुरिल्ला युद्ध शैली, सैन्य योजना र शक्तिशाली सेनाका सफलताका गाथा इतिहासमा पढ्न पाइन्छ ।

औरंगजेबले शिवाजीलाई धोका दिंदै कैद गरे पनि चतुर्‍याइँपूर्वक कैद मुक्त भएको र औरंगजेबका सेनाविरुद्ध लडेर २४ किल्ला फिर्ता लिन सफल भएको ऐतिहासिक कथाहरु छन् । उनका सफलताका कथामा फिल्महरु पनि बनेका छन् ।

१९ फेब्रुअरी सन् १६३० मा महाराष्ट्रको पुणे, दुर्ग शिवनेरीमा जन्मिएका उनको वास्तविक नाम भने शिवाजी राज भोसले थियो । पछि उनलाई छत्रपतिको उपाधि प्रदान गरिएको थियो । ३ अप्रिल १६८० मा उनको निधन भएको थियो ।