पोखरामा प्रचण्डले भने : सरकारभन्दा पार्टी र विचारको विकासमा लाग्छौँ

 संवाददाता    १० भाद्र २०८१, सोमबार १६:२०     17 जनाले पढ़िसके



Spread the love

कास्की, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन ।

कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा अध्यक्ष प्रचण्डले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छ्न ।

“हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो”, प्रचण्डले भने

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्यबाट सम्भव नरहेको पनि उनले बताए । उनले भने, “परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।”

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा पुग्न लागेको अध्यक्ष प्रचण्डले बताए । उनले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए।

“अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो”, उनले भने।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले धारणा राखेका थिए ।