यो सरकारले भात-रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री

 संवाददाता    १० भाद्र २०८१, सोमबार १४:१८     61 जनाले पढ़िसके



Spread the love
काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने नीति लिएको बताएका छन् ।

सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरूका घर घर नधाउन प्रधानमन्त्री ओलीले नेपाल प्रहरीका कर्मचारीलाई निर्देशन दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँको भद्राकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने बताए ।

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भन्दै उनले कर्तव्य पालनका लागि निष्पक्ष र दबाबरहित गर्न प्रहरीलाई निर्देशन दिए ।
काठमाडौं प्रहरी परिसरको अत्याधुनिक भवनमा सरेकोमा उनले धन्यवाद दिँदै सेवा पनि गुणस्तरीय दिन निर्देशन दिए । कर्तव्य पालनका लागि उनले निष्पक्ष र दबाब रहित गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दाेषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिए ।

अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उनले आग्रह गरे ।

‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, दिर्दोषलाई राज्य संयन्त्र प्रयोग गरेर फसाउ भन्नने अपराध गर्दैन र दोषीलाई छाड्दैन पनि ’, प्रधानमन्त्री ओलीले भने। ‘यो सरकार केवल एक सरकारको ठाउँमा अर्काे सरकार होइन, यसले केही गरौँ भन्ने अठोट लिएको छ । अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति यसले बोकेको छ । वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने सङ्कल्पका साथ गठन भएको छ । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न प्रहरी स्वतन्त्रतापूर्वक लाग्नुपर्छ । उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा पछि पर्नु हुँदैन ।’’

वर्तमान प्रधानमन्त्री ओलीकै कार्यकालमा उक्त प्रहरी परिसरका लागि नेपाल खाद्य संस्थानबाट एक अर्ब १० करोड रुपैयाँमा १५ रोपनी जग्गा खरिदका साथै अन्य प्रबन्ध भएको थियो । नेपाल प्रहरीमा संरचनागतरुपमा यो भवन हालसम्मकै ठुुलो उपलब्धि मानिएको छ । एक अर्ब २६ करो रुपैयाँको लागतमा उक्त अत्याधुनिक भवन निर्माण भएको हो ।