सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन

 संवाददाता    ९ भाद्र २०८१, आईतवार ०९:५५     29 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको भेटिएको छ ।

यसअघि २०७६ सालदेखि भएको सहकारी ठगी प्रकरणको विवरण मात्रै फेला पारेको प्रहरीले चार वटा ‘सर्भर’ बरामद गरेपछि भने थप चार वर्ष अर्थात् २०७२ सालदेखिको ठगीको विवरण पत्ता लगाएको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुसन्धान गर्दा सुरुवाती क्रममा २०७६ सालको मात्रै विवरण भेटिएको थियो । सूर्यदर्शनको वित्तीय विवरण लगायत अनुसन्धान क्रममा सहकारीमा जडित कम्प्युटर सफ्टवेयरमा २०७६ सालदेखिको विवरण भेटिएको थियो ।

जसअनुसार २०७६ सालदेखिको विवरण केलाउँदा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ रुपैयाँ ठगिएको विवरण भेटिएको थियो । तर, काठमाडौं शंखमुलबाट चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको ठगी विवरण पत्ता लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले बताए ।

सर्भर बरामद भएपछि थप १५ करोडको ठगी विवरण पत्ता लागेको खुलेको छ । अहिले ती सर्भर सहित अनुसन्धानका कागजात जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालय नक्साल पठाएको छ ।

सहकारी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन भएपछि प्रहरी प्रधान कार्यालयले कास्की प्रहरीसँग कागजात मागेको थियो । ती कागजात सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले समेत अध्ययन गरिसकेको छ । जसअनुसार सर्भर बरामद भएपछि ठगीको बिगो बढेर १ अर्ब ५० करोड ९० लाख ३० हजार ५ सय ३ रुपैयाँ पुगेको भेटिएको छ ।

‘सर्भर बरामद हुनुभन्दा पहिलाको वित्तीय विवरण गोलमोटल रूपमा आएको देखिन्छ । तर, सर्भर बरामद भएपछि सहकारीबाट के–कति रकम के–कुन माध्यमबाट बाहिरियो र यसको जिम्मेवार को हुनुपर्छ भन्नेसम्म खुलेको देखिन्छ,’ समितिका एक सदस्यले भने, ‘जसका कारण बिगोको हकमा मागदाबी लिन सहज देखिन्छ ।’

प्रहरीका अनुसार यी सबै सर्भर पहिले सम्बन्धित सहकारीकै कार्यालयमा थिए । तर, प्रहरीले सहकारी विरुद्ध अनुसन्धान अघि बढाएपछि बरामद हुने डरले पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीको घरमा लगेर लुकाएको खुलेको थियो ।