‘म कमसे कम यस्तो शौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो’, उनले भने ।
नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती हुन् ।
ओलीले पहिलो रक्षामन्त्री पनि आफ्नो दलबाटै बनेको भन्दै अहिले पहिलो महिला मुख्यसचिव पनि आफूले नै बनाएको बताए । ‘अहिले भर्खरै म आउनेबित्तिकै मौका पाएँ एउटा महिलालाई मुख्य सचिव बनाइहालेँ’, प्रधानमन्त्री ओलीले भने ।
अहिले विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलमा महिला अनिवार्य गरेको पनि उनले बताए ।
आफूले महिलाको लागि थुप्रै काम गरेको भन्दै उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थामा पनि आफ्नो प्रमुख भूमिका रहेको दाबी गरे ।
महिलाको मनोबल उठाउन, आत्मविश्वास जगाउन र उनीहरुलाई आर्थिक हिसाबमा सबल बनाउन आफूले नै स्टार्ट अपमा ४ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ दिने व्यवस्था गरेको प्रधानमन्त्री ओलीले बताए ।