हेटौँडा उपमहानगरले महावीर पुनको पाँच लाखबराबरको पुस्तक किन्ने

 संवाददाता    ७ भाद्र २०८१, शुक्रबार ०८:३८     48 जनाले पढ़िसके



Spread the love

हेटौँडा उपमहानगरपालिकाले वैज्ञानिक महावीर पुनको अभियानमा समर्थन गर्ने उद्देश्यले पाँच लाख रुपैयाँबराबरका पुस्तक किनेर सहयोग गर्ने भएको छ।

पुस्तक बिक्री अभियान लिएर उपमहानगरपालिकाको कार्यलय पुगेका पुनसँग भेट गर्दै मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पाँच लाख रुपैयाँबराबरका पुस्तक किनेर अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले २०२ दिनदेखि पुस्तक बिक्री अभियान लिएर हिँडिरहेका पुन एक साताअघि भरतपुर हुँदै हेटौँडा आइपुगेका हुन्।

सुदूरपश्चिम प्रदेशबाट अभियान सञ्चालन गरेका वैज्ञानिक पुन लुम्बिनी, गण्डकी हुँदै बागमती प्रदेशको चितवन र हेटौँडामा पुस्तक बिक्री गरिरहेका छन्। पुस्तक बिक्री अभियान अझै केही दिन हेटौँडामा सञ्चालन गर्ने उनले बताए।

वैज्ञानिक पुनलाई कार्यालयमा स्वागत गर्दै मेयर मीनाकुमारी लामाले पवित्र उद्धेश्यले सञ्चालन गरिएको अभियानमा उपमहानगरले साथ दिने बताइन्। उनले नगरका विभिन्न वडा कार्यलय, पुस्तकालय, ज्ञान केन्द्रहरूका लागि पुनको पुस्तक खरिद गरेर अध्ययनका लागि राख्ने व्यवस्था मिलाउने बताइन्।

देशभर पुस्तक बिक्री अभियानमा रहेका वैज्ञानिकले अहिलेसम्म एक लाख २५ हजार पुस्तक बिक्री गरिसकेको जानकारी दिए। नेपालको कुल जनसंख्याको १ प्रतिशतले मात्र पुस्तक खरिद गरे पनि कारखाना सञ्चालनका लागि २० करोड रुपैयाँ संकलन गर्न सकिने उनले बताए।