परराष्ट्रमन्त्री डा राणा र विदेश विभाग प्रमुख डा चौथाइवालेबीच भेटवार्ता

 संवाददाता    ६ भाद्र २०८१, बिहीबार ०८:३४     27 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच बुधबार भेटवार्ता भएको छ ।

भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री डा राणाले भारत भ्रमणका क्रममा आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई उनीमार्फत धन्यवाद व्यक्त गरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।

भ्रमणका क्रममा मन्त्री डा राणाले भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । त्यस्तै सोही दिन आफ्ना भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँगसमेत भेटवार्ता गरेकी छिन् ।

भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी थिइन् । मन्त्री डा राणा आज स्वदेश फर्किने कार्यक्रम छ ।