गाजा आक्रमणका क्रममा मारिए १७० पत्रकार

 संवाददाता    ५ भाद्र २०८१, बुधबार १७:२१     9 जनाले पढ़िसके



Spread the love

गत ७ अक्टोबरमा गाजापट्टीमा इजरायली आक्रमण सुरु भएदेखि ज्यान गुमाउने पत्रकारको संख्या १७० पुगेको छ।

गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा सहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको सहादतपछि मृत्यु भएका पत्रकारको संख्या १७० पुगेको उल्लेख छ।

विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको क्षेत्रमा अन्तर्राष्ट्रिय इजरायली कब्जालाई रोकी अपराधका लागि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन तथा पत्रकारको हत्या र अपराध रोक्न दबाब दिन आह्वान गरिएको छ।

इजरायली कब्जामा रहेको विमानले मंगलबार गाजामा सयौँ विस्थापितलाई आश्रय दिँदै आएको एक विद्यालयमा बम प्रहार गरेको थियो। जसमा अधिकांश महिला तथा बालबालिकासहित १२ जना प्यालेस्टिनी मारिएका थिए भने दर्जनौँ घाइते भएका छन्।

आक्रमणको १० महिनाभन्दा बढी समयदेखि गाजामा तनाव जारी छ। युद्धका कारण दशौँ हजार सहिद, घाइते र बेपत्ता छन्। आक्रमणले पूर्वाधार र महत्त्वपूर्ण सुविधाहरूको विनाश गरेको छ। निरन्तरको आक्रमणले गाजामा खाना, पानी, औषधि र इन्धनलगायतको आपूर्ति अवरुद्ध हुँदा गाजापट्टीमा अकल्पनीय मानवीय संकट निम्त्याएको छ।