मेची भन्सारको राजस्वमा वृद्धि

 संवाददाता    ४ भाद्र २०८१, मंगलवार १९:२५     33 जनाले पढ़िसके



Spread the love

मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रु. एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ। गत आव ०८०/८१ को सोही अवधिको तुलनामा यो १५.९३ प्रतिशतले बढी हो।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु. एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व संकलन भएको थियो। ‘मेची भन्सारबाट आयात १४.५४ प्रतिशतले बढ्दा निर्यात भने ३३.९८ प्रतिशतले घटेको छ,’ उनले भने, ‘चालू आवको साउनमा रु. तीन अर्ब ८९ करोड १० लाख ५८ हजारबराबरको मालवस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजारको निर्यात भएको छ।’

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चिया, प्लाइउड, भेनियर सिट, मोलासिसको निर्यात क्रमशः ३८.०८, ४३.४९, पाँच सय ३.९७ र शतप्रतिशतले बढ्दा अलैँची ८३.२८, अदुवा ८.८६, अम्रिसो २१.८८ र छुर्पी ७८.७८ प्रतिशतले घटेको छ।

त्यसैगरी, आयाततर्फ पेट्रोल ४.५८, डिजेल ११.८८, फलफूल ३८.४७ प्रतिशतले कमी आउँदा जुट १३.४६, एलपी ग्यास २७.३७, जिप्सम ६७.९५, मेसिनरी तथा पार्टपुर्जा ९६.५८, दलहन ६८.४९ र तरकारी एक सय ७७.६३ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।