शिव शिखर सहकारीका सञ्चालक शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणमा हालसम्मकै ठूलो मुद्दा

 संवाददाता    ४ भाद्र २०८१, मंगलवार ०८:१७     86 जनाले पढ़िसके



Spread the love

शिव शिखर र तुलसी सहकारीमार्फत सर्वसाधारणलाई अर्बौँ ठगी गरेका केदारनाथ शर्माविरुद्ध २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । यो नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अहिलेसम्मकै ठूलो मुद्दा हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, भक्तपुरले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । ३२ साउनमा दायर भएको यस मुद्दामा नौ सञ्चालक र २२ कम्पनीलाई प्रतिवादी बनाइएको छ । शर्मा शिव शिखर सहकारीका पूर्वअध्यक्ष हुन् ।

शर्माकी श्रीमती गीतालाई ५२ करोड ३३ लाख रुपैयाँको बिगो कायम गरिएको छ । केदारनाथ र गीता दुवै सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् ।

त्यस्तै, शिव शिखरका अध्यक्ष सुशील बानियाँको हकमा पाँच अर्ब ४८ करोड ४५ लाख बिगो कायम गरिएको छ । उनको नाममा बाँकेको चट्टारमा रहेको जग्गा पनि जफतको माग गरिएको छ । बानियाँ हालसम्म फरार छन् ।

शिव शिखरकै सचिव तेजबहादुर तामाङलाई ७१ करोड नौ लाख १८ हजार, तुलसी सहकारीकी व्यवस्थापक सविना न्यौपानेलाई एक करोड २४ लाख, तुलसी सहकारीकै कर्मचारी मन्दीप खवासलाई २० लाख, संस्थाका सदस्य तथा शिखर अर्गनाइजेसनका मेनेजर पुष्कर मल्लको हकमा १० करोड ६३ लाख २२ हजार बिगो कायम गरिएको छ । त्यस्तै, सहकारीका व्यवस्थापक लीलानाथ गौतमको हकमा पाँच करोड ४८ लाख ४५ हजार बिगो कायम गरिएको छ । मन्दीप खवास, सविना न्यौपाने र शिव शिखरका कर्जा अधिकृत मुकुन्द कपालीको नाममा शर्माले सहकारीको पैसाबाट सम्पत्ति जोडेको अभियोगमा उल्लेख छ ।

सहकारीको पैसा लगानी गरिएका कम्पनीहरूलाई पनि प्रतिवादी बनाइएको छ । शिव शिखर एग्रो, शिखरदीप फुड, शिखरदीप एग्रो (काठमाडौं), गोरखा टी एन्ड कफी, शिखर मेसिनरी, नटराज एग्रो, गार्डेन मार्ट, तुलसी फुड इन्डस्ट्रिज, उपकार गार्मेन्ट कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ । त्यस्तै, हिमालयन लायन कन्स्ट्रक्सन, तुलसी मोटर पम्प, तुलसी कृषि अनुसन्धान प्रालि, गोरखा वेभरेज, उपकार मिठिया, शिखर अर्गनाइजेसन, होटेल पोप लाइफ, शिव शिखर खाद्य उद्योग, त्रिदेवी फ्लोर एन्ड आयल, टेक्नो डोन, डिजिटल शिखर, त्रिदेवी फुड इन्डस्ट्रिज र शिखर स्पाइस एड फ्रुट इन्डस्ट्रिजविरुद्ध पनि मुद्दा दायर भएको छ । यी कम्पनीहरूमा केदारनाथ, गीता तथा सहकारीका केही सञ्चालकको लगानी छ । सहकारीको पैसा गैरकानुनी रूपमा ती कम्पनीमा लगानी गरेर सम्पत्ति शुद्धीकरण गरिएको आधारमा मुद्दा दायर भएको हो । उनीहरूको नाममा ४० कम्पनी भेटिए पनि २१ वटामार्फत सहकारी ठगीको पैसा शुद्धीकरण गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दाबी छ ।

विभागले दुई महिनाअघि नै रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सरकारी वकिल कार्यालयले विस्तृत अध्ययन गरी मुद्दा दायर गरेको हो । सो सहकारीको मुख्य कार्यालय भक्तपुरमा भएको आधारमा भक्तपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको भक्तपुरका जिल्ला न्यायाधिवक्ता श्यामप्रसाद दाहालले बताए । ‘सहकारी ठगीको रकम विभिन्न कम्पनी र व्यक्तिको नाममा राखेर सम्पत्ति शुद्धीकरण गरेको आधारमा छुट्टै मुद्दा दायर भएको हो,’ न्यायाधिवक्ता दाहाल भन्छन्, ‘जिल्ला अदालतमा प्रतिवादीहरू भने उपस्थित भइसकेका छैनन् ।’ यसअघि नै भक्तपुरलगायतका जिल्लामा सहकारी ठगीको छुट्टै मुद्दा दायर भइसकेको छ ।

सो सहकारीले देशैभरि शाखा विस्तार गरी अर्बौँ उठाएर ठगी गरेको छ । सहकारी सञ्चालक तथा व्यवस्थापकविरुद्ध १३ जिल्लामा यसअघि नै ठगी मुद्दा दायर भएकोमा फैसला आएको छैन । काठमाडौं, भक्तपुर, डडेल्धुरा, कैलाली, रूपन्देही, कास्की, बागलुङ, म्याग्दी, चितवन, मकवानपुर, कञ्चनपुर, सुर्खेत र बाँकेमा ठगी मुद्दा दायर भएको छ । सबैभन्दा धेरै भक्तपुरमा एक अर्ब ७६ करोड, काठमाडौंमा ७८ करोड, बाँकेमा ७४ करोड, चितवनमा ६६ करोड, कास्कीमा ५४ करोड, डडेल्धुरामा ४० करोड, बागलुङमा ३४ करोड रुपैयाँबराबरको मुद्दा दायर भइसकेको छ । त्यस्तै, कञ्चनपुरमा ३२ करोड, मकवानपुरमा २४ करोड, रूपन्देहीमा ६ करोड, सुर्खेतमा नौ करोड, म्याग्दीमा चार करोड र कैलालीमा ९६ लाख रुपैयाँबराबरको मुद्दा दायर भएको छ ।

शर्मा नै अध्यक्ष रहेको तुलसी सहकारीविरुद्ध मोरङ, झापा र उदयपुरमा गरी ४० करोड ७० लाख रुपैयाँबराबरको अर्काे मुद्दा दायर भएको छ । दुई सहकारीको गरी शर्माले ११ अर्ब रुपैयाँभन्दा धेरै हिनामिना गरेका थिए । शिव शिखरको नौ अर्ब ६४ करोड र तुलसीको एक अर्ब ६५ करोड बचत हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।

शर्मा आबद्ध भएका विभिन्न कम्पनीको सम्पत्ति नौ अर्ब ५९ करोड र सहकारी ठगी गरेको ११ अर्ब ४६ करोडलाई मुख्य बिगो बनाइएको छ । यसबाहेक श्रीमती सञ्चालक रहेको कम्पनीबाट लगानी गरेको ५२ करोड, नेपाल एसबिआई बैंकले लिलामी गरेको एक अर्ब २५ करोड र उनले मेनपावर कम्पनी तथा भारतमा लगानी गरेको पाँच करोड ४० लाख रुपैयाँ जोडेर २२ अर्ब ८८ करोड बिगो कायम भएको हो ।

हाल उक्त सहकारीले लगानी गरेका कम्पनीको नाममा नौ अर्बभन्दा धेरै सम्पत्तिसमेत रहेको मूल्यांकन गरिएको छ । दुई अर्ब ३५ करोडको जग्गा, ४० करोडको भवन, १७ करोडबराबरको मेसिनरी औजार, २५ करोड ५० लाख रुपैयाँबराबरको सवारीसाधन रहेको उल्लेख छ । त्यस्तै, ३४ करोड रुपैयाँबराबरको जम्मा स्थिर सम्पत्ति तथा २० करोडको अन्य अस्थिर सम्पत्ति, बैंक तथा नगद मौज्दात (अग्रिम पेस्कीलगायतका सम्पत्ति) ६ अर्ब सात करोडबराबर रहेको उल्लेख छ । सहकारीको सम्पत्ति बिक्री गरेर आफ्नो बचत फिर्ता गर्न पीडितहरूले दबाब दिँदै आएका छन् ।