टीआरसी विधेयक राष्ट्रियसभाबाट स्वीकृत

 संवाददाता    ३ भाद्र २०८१, सोमबार १०:०४     9 जनाले पढ़िसके



Spread the love

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

आइतबार बैठकमा सैद्धान्तिक छलफलपछि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले प्रस्ताव राखेका थिए । उनले विधेयक फास्ट ट्रयाकबाट पारित हुने विश्वास लिए । राष्ट्रियसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित भएको छ ।

टीआरसीसम्बन्धि विधेयक साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको थियो ।

विधेयक ०७९ फागुन २५ गते संसद्‌मा दर्ता भएको थियो । ०८० वैशाख ५ गते प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा पठाइएको थियो । समितिले ०८१ साउन २४ गते सर्वसम्मत पारित गरेको थियो । त्यसपछि प्रतिवेदनसहित साउन २९ गते प्रतिनिधिसभामा पेस भएको थियो ।