मधेस प्रदेश सरकार पुनःगठन, पाँच जना राज्यमन्त्री थपिए

 संवाददाता    २२ श्रावण २०८१, मंगलवार १९:५२     112 जनाले पढ़िसके



Spread the love

धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेकी छिन् ।

प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आज मन्त्रिपरिषद् पुनःगठन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पुनःगठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट दुई र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकरएक जना राज्यमन्त्रीमा नियुक्त भएका छन् । कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भए ।

त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

विधेयक पारित
यसैबीच मधेस प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आज बसेको प्रदेशसभाको दोस्रो बैठकबाट संशोधनकर्ताले संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्वसम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

स्थानीय तहका कर्मचारीको हकमा प्रदेश सरकारले कानुन बनाउने संवैधानिक व्यवस्था बमोजिम विधेयक पारित भएको हो । विधेयकमा उठेका विभिन्न जिज्ञासाका विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले जवाफ दिँदै विधेयकका विषयमा प्रदेशसभाका सदस्यले उठाएका विषय लोकसेवा आयोगको परामर्शमा नै राख्ने काम भएको र धेरै सुझाव विधेयकमा समेट्ने काम भएको जानकारी दिए ।

यसअघि विधेयकको नाम, प्रस्तावनासहित दफा २ देखि १५९ सम्मका भाग पारित गरेर विधेयकको भाग बनेको जानकारी सभामुखले गराएका थिए ।