पोखरामा अन्तर्राष्ट्रिय ‘बेलुन फेस्टिबल’ हुने

 संवाददाता    २० श्रावण २०८१, आईतवार १२:०९     19 जनाले पढ़िसके



Spread the love

कास्की । पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल हुने भएको छ ।

पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले बेलुन नेपाल प्रालिले फेवातालको मुहान क्षेत्रमा फेस्टिबल आयोजना गर्न लागिएको हो । पोखरामा आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष विक्रम बाडेले अङ्ग्रेजी नयाँ वर्षका अवसर पारेर आगामी पुस १४ देखि १८ गतेसम्म फेस्टिबल हुने जानकारी दिए ।

छ करोड ५० लाख खर्च हुने अनुमान गरिएको फेस्टिभलले पोखराको पर्यटनमा उत्साह थप्दै शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन सफल हुने विश्वास गरिएको उनले बताए । अध्यक्ष बाडेका अनुसार फेष्टिबलमा विश्वका विभिन्न देशबाट करिब २० देखि २५ वटा बेलुन निर्यात गरिने छन् ।

नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा पर्यटन परिषद्लगायतका सङ्घ संस्थाको सहयोग र सहकार्यमा फेस्टिबल हुने जनाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरामा यस प्रकारको महोत्सव आयोजना हुनु खुसीको कुरा भएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेष्टिबल पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक कार्यक्रम हुने धारणा राखे ।

पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नवीन पोखरेलले फेस्टिबलले पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउन र नयाँ सम्भाव्यताको खोजी गर्न कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बेलुन नेपालका सञ्चालक सविन महर्जनले आफ्नो संस्थाले पोखरामा ‘हट एयर बेलुन’ सञ्चालनमा ल्याइरहेको बताए । बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिने उनको भनाइ छ ।