सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह दोहोरिने तयारी

 संवाददाता    २० श्रावण २०८१, आईतवार ०६:५१     19 जनाले पढ़िसके



Spread the love

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेस गर्ने तयारी गरेका छन् ।

कांग्रेसका एक शीर्ष नेताले दिएको जानकारीअनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।

‘राजनीतिक समीकरण फेरिएपछि छोटो अवधिमै उहाँले हट्नुपरेको थियो । त्यही कारण उहाँले चाहेअनुसार काम गर्न पाउनुभएन,’ ती नेताले भने, ‘अहिले उहाँकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको छ । बाँकी निर्णय प्रदेश संसदीय दलको बैठकले गर्छ ।’

सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा थिए तर उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने भएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले अहिले शाहलाई मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरुलाई निर्देशन दिएका छन् । देउवाको निर्देशनपछि उनका भतिजा समेत रहेका प्रकाशबहादुर देउवा पनि धनगढी फर्किएका छन् ।

कांग्रेसका नेता र प्रदेश सभा सदस्यहरुले शाहलाई मुख्यमन्त्री बनाउने निर्णयमा सभापति पुगेको बताए पनि औपचारिक रुपमा धारणा दिन मानेका छैनन् । तर, मुख्यमन्त्री शाह बन्ने पक्कापक्की भएको उनीहरु बताउँछन् ।

योसँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौं मुख्यमन्त्री बन्ने भएका छन् । राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

स्रोतकाअनुसार पार्टी सभापति देउवाले पूर्वभौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका भतिज प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन खोजेका थिए तर पत्नि आरजु देउवालाई परराष्ट्र मन्त्री बनाएका बेला भतिजालाई मुख्यमन्त्री बनाउँदा राम्रो सन्देश नजाने र परिवारवादको आरोप खेप्ने डरले शाहलाई नै दोहोर्‍याउन निर्देशन दिएका हुन् ।

शाहलाई मुख्यमन्त्री बनाउने वा नबनाउनेबारे औपचारिक निर्णय भने आज बिहान ११ बजे बस्ने संसदीय दलको बैठकले गर्नेछ ।