पूर्वराज्यमन्त्री रायको हत्या उनकै कामदारलाई छिमेकीले दुई लाख दिएर गराएको खुलासा

 #अपराध     १५ श्रावण २०८१, मंगलवार ०७:२३     85 जनाले पढ़िसके



Spread the love

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उहाँकै घरमा सहयोगीको रुपमा काम गर्ने कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

मलङ्गवा नगरपालिका–४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्रको साउन ७ गते राति चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित फार्म हाउसमा हत्या भएको थियो । धान खेती गर्न रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउको विभिन्न भागमा प्र्रहार गरी सुत्ने कोठमा हत्या गरिएको थियो ।

रामचन्द्रको हत्याको मुख्य कारण जग्गासम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ । रामचन्द्रको चन्द्रनगर–१ रतपुरस्थित बनाएको दुईकोठे फार्म हाउसको जग्गा आफ्नो हो भनी छिमेकी वीरेन्द्र रायले पाउनुपर्ने माग गर्दै आएका थिए । प्रमाण जुटाउनका लागि वीरेन्द्रले पूर्वराज्यमन्त्रीका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रले सहयोगीलाई झुक्याई उक्त जमिनको नक्साको भिडियो समेत बनाएको प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहले बताए । रामचन्द्रलाई मारे मात्र जग्गा पाउने दाउमा रहेका वीरेन्द्रले सहयोगीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ । केही दिन अगाडि वीरेन्द्रले सहयोगी राम उजैनलाई रामचन्द्रको हत्या गरेवापत रु दुई लाख र व्यवसायको लागि एउटा फार्म बनाइ दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ । वीरेन्द्रको उक्साहट र प्रलोभनमा परी राम उजैनले राय एक्लै हत्या गरेको प्रहरीको भनाइ छ ।

रामचन्द्रको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीको साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको कमान्डमा छ सदस्यीय अनुसन्धान टाली खटाइएको थियो ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको धारिलो हतियार फर्सा, राज उजैन राय सुतेको तन्नामा रगत जस्तो रातो पदार्थ लागेको फेला परेको, सेतो गञ्जी, हाफ पाइन्टलगायत सबुत प्रमाण प्रहरीले फेला पारेको छ । घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको पोलिग्राफी जाँच प्रहरीले गरेको जनाइएको छ ।