पूर्व राज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट

 #अपराध     ९ श्रावण २०८१, बुधबार १३:५४     27 जनाले पढ़िसके



Spread the love

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रायको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो । ‘अनुसन्धान लगभग सकिसकेको छ । हत्या गर्ने व्यक्ति उनकै घरमा काम गर्ने युवक रहेको खुलेको छ’, एक अनुसन्धान अधिकृतले बताए ।

हत्या गर्दा ती युवकले लगाएका लत्ताकपडाहरु लुकाएको अवस्थामा बरामद गरिएको प्रहरी स्रोतले जानकारी दियो । रगत लागेको अवस्थामा ती कपडाहरु बरामद भएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार बरामद भएको थियो ।

यसअघि पूर्वराज्यमन्त्री रायको हत्या भएको राति साढे ९ बजेतिर रायको घरमा तीन जना मान्छे जग्गाको विवाद मिलाइदिन भन्दै आएको बयान राम उजैनले प्रहरी समक्ष दिएका थिए ।

त्यसपछि ती तीन जना व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गर्दा तीन जना व्यक्ति कोही पनि नआएको र रामउजैनले नै हत्या गरेको खुलेको प्रहरीको दाबी छ ।