सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

 संवाददाता    ७ श्रावण २०८१, सोमबार १२:३२     25 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् ।

सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो । 

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ ।

प्रदेश प्रहरीको थप अनुसन्धान टिम समेत आई अनुसन्धान हुँदै गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रविन्द्रबहादुर सिंहका अनुसार रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । ती व्यक्तिले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ ।

हत्यामा कसको संलग्नता छ र के कारणले हत्या भएको हो भन्ने प्रस्ट भइसकेको छैन । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टमका लागि शवलाई मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार राज्यमन्त्री रायको हत्यामा घरेलु हतियार प्रयोग भएको देखिन्छ