बंगलादेशमा रोकिएन हिंस्रक आन्दोलन, दुई प्रहरीसहित ११० जनाको मृत्यु

 संवाददाता    ६ श्रावण २०८१, आईतवार १२:२०     20 जनाले पढ़िसके



Spread the love

काठमाडौं । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ११० पुगेको छ । मंगलबारदेखि सुरु भएको हिंस्रक आन्दोलन उग्र बन्दै जाँदा दुई प्रहरीसहित कम्तिमा ११० जनाको मृत्यु भएको हो । आन्दोलनका क्रममा दर्जनौँ व्यक्तिहरू घाइते भएका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि बंगलादेशमा कर्फ्यू लगाइएको छ । तर, कर्फ्यू लगाउँदा पनि आन्दोलन रोकिएको छैन । शनिबार पनि कर्फ्यूका बाबजुत हिंसात्मक प्रदर्शनहरू भएका थिए । शनिबार मात्र भएको प्रदर्शन र झडपमा परी कम्तिमा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै ९० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि शुक्रबार मध्यरातदेखि कर्फ्यू लगाइएको थियो । तर, शनिबार पनि प्रदर्शन भएपछि सरकारले कर्फ्यूमा थप कडाइ गरेको छ । आइतबार र सोमबारका लागि सार्वजनिक बिदाको घोषणा गरिएको छ । बंगलादेशमा आन्दोलन उग्र बन्दै गएपछि सरकारले नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएपछि उनीहरुलाई काठमाडौं फर्काउन लागिएको जनाएका छन् । त्यस्तै करिब ८ सय जना शनिबार रातिसम्म स्वदेश फर्किसकेका छन् ।

यसका साथै नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको छ ।