एमालेले लुम्बिनी र सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो

 लुम्बिनी प्रदेश सुदुर पश्चिम प्रदेश     २१ असार २०८१, बिहीबार २०:३५     20 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका हुन् ।

केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनाउने सहमति भएपछि एमालेका मन्त्री चेतनारायण आचार्य, दिनेश पन्थी, भूमीश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीले राजीनामा बुझाएका छन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्रीहरूले पनि राजीनामा बुझाएको बताए ।

यता सुदूरपश्चिममा एमालेका तर्फबाट प्रदेश सरकारका सहभागी मन्त्रीहरुले बिहीबार बेलुकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा बुझाएका हुन्।

यद्यपि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनका लागि काठमाडौंमै रहेका बेला उनको सचिवालयमा मन्त्रीहरुले राजीनामा दर्ता गराएका हुन्।

‘मुख्यमन्त्रीको अनुपस्थितिमा उनको सचिवालयमा गएर मन्त्रीहरुले राजीनामा बुझाएका छन्,’ एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको मुख्यमन्त्रीलाई टेलिफोनमार्फत पनि जानकारी गराएका छौँ।’