पपुवा न्यु गिनी पहिराेमा २ हजार जनाभन्दा धेरै मानिस बेपत्ता

 #अन्तरास्ट्रिय     १४ जेष्ठ २०८१, सोमबार १७:५५     10 जनाले पढ़िसके



Spread the love

पपुवा न्यु गिनीले गएको शुक्रवारको पहिरोमा परेर दुई हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएका जनाएको छ । बेपत्ता हुने मानिसको सङ्ख्याबारे फरक–फरक विवरण सार्वजनिक भइरहेका बेला पपुवा न्यु गिनी सरकारले नै संयुक्त राष्ट्र सङ्घलाई पहिराेमा परि दुई हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएका जनाएको हो ।

समाचार संस्था एएफपीका अनुसार सरकारले संयुक्त राष्ट्र सङ्घलाई बेपत्ता भएकाहरूको सङ्ख्याबारे जानकारी गराउँदै भयानक सङ्कटको सामना गर्न सहायता माग गरेको छ । राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोर्सबीमा पत्रकार सम्मेलन गरेर अहिलेको घटना इतिहासकै ठूलो घटना भएको जनाएको छ ।

गएको शुक्रवार एङ्गा प्रान्तमा एउटा पहाडमा रहेको पूरै गाउँलाई नै पहिरोले बगाएको छ । पहिराेका कारण ११ सय वटा घर भत्किएका छन् भने एक सय ५० वटा घर नदेखिने गरी पुरिएका छन् ।

रातको समयमा आएको पहिरोले दुई हजार जनाभन्दा धेरैलाई बगाएको र पूरेको शङ्का छ । अहिले पनि पहिरो गइरहेकाले खोजी प्रभावित भएको छ । अब धेरैलाई जीवितै भेटाउन सक्ने सम्भावना कम रहेको पनि पपुवा न्यु गिनी सरकारले जनाएको छ ।

पपुवा न्यु गिनीले मित्र देश र साझेदारहरूलाई आफ्नो देशमा सहायता र सहयोगको अपिल गरिदिन पनि आग्रह गरेको छ ।