बाँके बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको सामूहिक अन्त्येष्टि

 #दुर्घटना     २४ भाद्र २०८०, आईतवार १३:०६     95 जनाले पढ़िसके



Spread the love

नेपालगञ्ज- बाँकेको शमशेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।

ठाकुरबाबा नगरपालिकाको हात्तिसार नजिकैको मनाउ घाटमा आइतबार बिहान सामूहिक अन्त्येष्टि गरिएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिए।

नगरपालिकाको वडा नं ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, चानुराम थारुको सामूहिक अन्त्यष्टि गरिएको हो। चालक वडा नं ७ का जगबहादुर चन्द र सहचालक बारबर्दियाका बसन्त कार्कीको शव परिवारले नै बुझेका छन्।

आइतबार नगरपालिका मातहतका कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शोक बिदा दिइएको छ। साथै आइतबार नै बसेको नगर कार्यपालिकाको बैठकले मृतकका परिवारलाई किरिया खर्चका लागि प्रति परिवार २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ।

शुक्रबार राति बर्दिया ठाकुरबाबा नगरपालिका ९ का सामुदायिक वनका सदस्यहरूको भ्रमण टोली बोकेर दाङबाट बर्दिया फर्कँदै गरेको बस बाँकेको ढकेरी राप्तीसोनारी ८ शमशेरगञ्ज नजिकै रोकिराखेको ट्रकमा ठोकिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने २५ जनाभन्दा बढी घाइते भएका थिए।

भेरी यातायातको ना ७ ख २३२१ नम्बरको बस बिग्रिएर सडक किनारामा रहेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिएको थियो।