अमेरिकामा हुन लागेको नेफ्टा अवार्ड रद्द

 कला तथा मनोरन्जन     १ श्रावण २०८०, सोमबार १९:२०     133 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – आउँदो २२ जुलाईका दिन अमेरिकाको टेक्सासमा आयोजना हुने भनिएको प्राविधिक संघ नेपालले आयोजना गर्दै नेफ्टा अवार्ड नहुने भएको छ । मनोनयन सार्वजनिक लगत्तै विवादमा परेको अवार्ड अन्ततः रद्द भएको हो । तर दुवै देशका आयोजकले अवार्ड हुन नसक्ने कुरा सार्वजनिक रुपमा बताएका छैनन् ।

तर अमेरिका उड्न ४ दिन मात्र बाँकी रहँदा कुनै गतिविधि नदेखिएकाले दुवै तर्फका आयोजकले अवार्ड कार्यक्रम माया मारेको अनुमान गर्न सकिन्छ । अवार्डको मिति नजिकिँदै जाँदा आयोजकको आन्तरिक विवाद चुलिएको थियो । आयोजकमध्येको एक आर्यन फिल्मस्ले विज्ञप्ति जारी गर्दै आफू अवार्ड आयोजनाबाट पछि हटेको जनाएको थियो ।

 

 

यही क्रममा उसले प्राविधिक संघका पदाधिकारीले अमेरिका लैजानेभन्दै असम्बन्धित मान्छेबाट पैसा उठाएको समेत आरोप लगाएको थियो । अमेरिकामा पनि केही व्यक्तिले उताका आयोजकलाई मानव तस्करीको प्रयास गरिरहेको आरोप लगाएका थिए ।

तर कार्यक्रम रद्द हुनमा मुख्य कारण भिजा मानिएको छ । प्राविधिक संघले पहिला ४१ जना र पछि ९ जनाको भिजा लगाउने प्रयास गरेको बताइएको थियो । तर अमेरिकन एम्बेसीमा भिजा लिनेको चापका कारण अवार्ड आयोजकले खोजेको मितिमा कसैले पनि अन्तर्वार्ता दिन पाएका थिएनन् । लैजान खोजेका कलाकार कसैको पनि भिजा नहुने भएपछि अवार्ड कार्यक्रम नै रद्द हुन पुगेको हो ।

यसमा आयोजकले पहिला भिजा भएका कलाकार लगेर पनि अवार्ड आयोजना गर्ने तयारी गरेको थियो । तर आयोजक अन्तिम समयमा यो योजनाबाट पनि पछि हटेका छन् । त्यसैले झोला प्याक गरेर बसेका भिजा भएका कलाकार पनि अहिले खिन्‍न भएका छन् ।

यो विषयमा प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । नेफ्टाले यसअघि हङकङ र मध्यपूर्वमा अवार्ड गरेको थियो । दुवै देशमा भएका अवार्ड विवादरहित भने हुन सकेका थिएनन् ।