एसईईको नतिजा प्रकाशन : गणितमा सधैं विद्यार्थी कमजोर

 शिक्षा     २१ असार २०८०, बिहीबार २०:४०     64 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजाले माथिल्लो न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) ल्याउने विद्यार्थीहरुको संख्या बढेको देखाएको छ । तर प्रयोगात्मक परीक्षा नहुने अनिवार्य गणित विषयको नजिताले शैक्षिक गुणस्तरमा सुधार भएको सरकारी दाबीमाथि प्रश्न उठाएको छ ।

गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षामा ४ लाख ६९ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ । अघिल्लो वर्ष अघिल्लो वर्ष यो ग्रेड समूह ल्याउने विद्यार्थी संख्या ९ हजार ६३३ जना थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुका अनुसार माथिल्लो क्रमका अरु जीपीएमा पनि सुधार छ । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । बोर्डका अध्यक्ष महाश्रम शर्मा एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताउँछन् ।

के कारणले रिजल्टमा सुधार आयो भन्ने छुट्टै अध्ययन नगरेको भए पनि कोभिड–१९ को महामारीपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाउनु, विद्यालय र कक्षाकोठाको अवस्था सुधार आउनुका साथै परीक्षा प्रणालीमा गरेको सुधार हुनसक्ने उनले बताए ।

बोर्डका अध्यक्ष शर्मा भन्छन्, ‘यो नतिजाले देखायो कि विद्यालय र कक्षाकोठाहरुको वातावरणमा सुधार आउँदैछ, त्यसपछि परीक्षा प्रणालीमा भएको सुधार, तथा उत्तर पुस्तिका परीक्षणमा भेरिएसन कम हुने गरी गरेका सुधारले गर्दा रिजल्ट राम्रो देखियो ।’

उनको दाबीलाई एक हदसम्म तथ्यांकले पनि पुष्टि गरेको छ । २ देखि २.४ जीपीएसम्म ल्याउने विद्यार्थीको अनुपात गत वर्ष भन्दा यसवर्ष बढी छ ।