आज गुरु पूर्णिमा,गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै

 संवाददाता    १८ असार २०८०, सोमबार ०७:२८     104 जनाले पढ़िसके



Spread the love

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखेर हिन्दु संस्कृतिको संरक्षणमा योगदान दिनु भएको छ ।

आज देशभर शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपि अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ । आफूलाई शिक्षा दिने गुरुको सम्मानमा शिष्यहरूले आज मिष्ठान्न भोजनका साथ श्रद्धाभाव व्यक्त गर्ने परम्परा छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने गरिन्छ ।