पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट

 बजेट     १० असार २०८०, आईतवार २२:१०     84 जनाले पढ़िसके



Spread the love

पोखरा – पोखरा महानगरपालिकाले चालु वर्षको भन्दा घटाएर बजेट ल्याएको छ। महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको हो।

उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १३ औं नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिन्। चालु वर्षको तुलनमा पोखराको बजेट १ अर्ब ६२ करोड ७ लाख ७३ हजार रुपैयाँले कम हो।

बजेटको स्रोतमा संघीय सरकारबाट २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। प्रदेश सरकारबाट १० करोड २३ लाख ६२ हजार रुपैयाँ प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ व्यहोर्ने उपप्रमुख गुरुङले जानकारी दिइन्।

संघीय राजस्व फाँडफाँटबाट ३६ करोड ६२ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाटबाट १ अर्ब १ करोड ७५ लाख रुपैयाँ, संघीय सहरी विकास आयोजनाको अनुदानबाट ८ करोड ४० लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।

पोखराले चालु आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो। असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ मात्र खर्च भएको छ। कूल बजेटको ४३.५ प्रतिशत मात्र खर्च भएको हो।

४ अर्ब ३० करोड १५ लाख ५२ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको महानगरले १ अर्ब १९ करोड ७१ लाख ९२ हजार मात्र संकलन भएको छ।