मदिरा भन्ठानेर विषादी पिउँदा दुई महिलाको मृत्यु, दम्पती सिकिस्त

 संवाददाता    ९ असार २०८०, शनिबार १२:२४     84 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । घरेलु रक्सी ठानेर अखाद्य पेय पदार्थ पिउँदा बर्दियामा २ जना महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका ८ टिसीएन फाँटाका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अखाद्य तरल पदार्थ पिएर मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यस्तै सोही अखाद्य तरल पदार्थ पिएका दम्पतीको अवस्था गम्भीर रहेको समेत प्रहरीले बताएको छ । हाल उनीहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

केही दिनअघि गणेश शिव मन्दिरको वन क्षेत्रको डम्पिङ साइट नजिकै सालको फूल टिप्न गएकी स्थानीय ५२ वर्षीया लंका वादी र ५६ वर्षीया जगत कुमारीले त्यहाँ ग्यालेन भेटाएका थिए । उक्त ग्यालेनमा घरेलु मदिरा भएको ठानी घर ल्याएर अखाद्य वस्तु सेवन गरेको अनुसन्धानमा देखिएको प्रहरीले उल्लेख गरेको छ ।

उक्त पेय पदार्थ ल्याए पनि वादीले भने नपिएको अनुसन्धानमा देखिएको छ । गौरीको असार ६ गते र कमलाको ७ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले गौरीको सोही दिन दाहसंस्कार गरेका थिए ।

घटनाको शुक्रबार जानकारी पाउनासाथ प्रहरीले शंका लागी कमलाको दाहसंस्कार गर्न नदिएको इलाका प्रहरी कार्यालय ढोढरी, वेलवाले बताएको छ । प्रहरीका अनुसार शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरियामा ल्याइएको छ। फोटो : सांकेतिक