पठनपाठन रोकिए शिक्षक, कर्मचारीलाई पदबाट हटाउने मेयर बालेनको चेतावनी

 महानगर     २ असार २०८०, शनिबार १७:४६     96 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

असार ३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा समाचार आएको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत विद्यालयमा पठनपाठन रोकिएका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने बताएका हुन् ।

विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ)ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको पनि उनले स्मरण गराएका छन् ।

उनले काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणाविपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको स्पष्ट पारेका छन् । उनले महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

महानगरका विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीमलाई कारबाही गरी पदबाट हटाइने उनले लेखेका छन् । फोटो : फाइल

यस्ता कानुनका दफामा रहेर कारबाही गर्ने उनले बताएका छन।

१) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।

२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ ।

३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ ।

४) काठमाडौं महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुनबमोजिम कारबाही गरिनेछ ।