गण्डकी सरकारले पायो पूर्णता

 #नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश     ३० बैशाख २०८०, शनिबार ०७:५९     61 जनाले पढ़िसके



Spread the love

कास्की । गण्डकी प्रदेश सरकारले मूख्यमन्त्री पाएको २१ औँ दिनमा मन्त्रिपरिषदले पूर्णता पाएको छ । वैशाख १४ गते नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । मन्त्री हुनेमा नेपाली कांग्रेसका तीन र नेकपा माओवादकिो एक जना रहेका छन् ।

त्यस्तै, प्रदेश सभामा पाँच दल मध्ये साझेदारी रहेको एकीकृत समाजवादीले भने कुनै मन्त्रालय पाएको छैन ।

गण्डकी प्रदेश सरकारमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका छन् ।

जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय पाएका छन् भने जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पाएका छन् ।

त्यस्तै आलेले आर्थिक मामिला र थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एकीकृत समाजवादीका राजीव गुरुङ मनाङेलाई भने मन्त्री बनाइएको छैन ।

उनको ठाउँमा काँग्रेसकै मन्त्री बनाइएको छ । वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

रेशम जुग्जाली खगराज अधिकारी सरकारमा पर्यटनमन्त्री थिए । यसअघि १२ मन्त्रालयसम्म रहेको गण्डकीमा खगराज अधिकारीले ७ मन्त्रालयमा झारेका थिए ।

पाण्डेले पनि मन्त्रालयको संख्या सोही कायम गर्ने घोषणा त्यही बेला नै गरेका थिए । १५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

उनीहरू मध्ये अर्याललाई उर्जा, जलश्रोत तथा खानेपानी र सिम्खडालाई सामाजिक विकास तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।