गण्डकीमा कांग्रेसका पाण्डे मुख्यमन्त्री नियुक्त

 संवाददाता    १४ बैशाख २०८०, बिहीबार २२:२१     66 जनाले पढ़िसके



Spread the love

पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तारुढ घटकहरु एक भए ।

प्रदेश सरकारका लागि नेपाली कांग्रेसको नेतृत्वमा बिहीबार दाबी पेस गरिएको थियाे । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरेकाे थियाे । प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई बहुमतको हस्ताक्षर बुझाइएको थियाे ।

प्रदेश प्रमुख गुरुङले तीन दिनको समय दिएर सरकार गठनका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका थिए । उक्त समय बिहीबार साँझ ४ बजे सकिँदै छ ।

सरकारको दाबीका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेले हस्ताक्षर गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको हो ।

६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसद्‌मा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सिट रहेको छ । सभामुखसहित माओवादीको ८ सिट रहेको छ भने स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् ।

प्रदेश प्रमुखलाई ३५ जनाको हस्ताक्षर बुझाइएको छ । यसअघि पुस २५ मा दोस्रो कार्यकालका लागि पहिलो मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका थिए । पाण्डे अब दोस्रो कार्यकालको दोस्रो मुख्यमन्त्री बन्नेछन् ।