निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छः निर्वाचन आयोग

 निर्वाचन आयोग प्रदेश तथा संघ निर्वाचन २०७९     १८ मंसिर २०७९, आईतवार १८:१८     38 जनाले पढ़िसके



Spread the love

निर्वाचन आयोगले पूर्णरूपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानूनले स्पष्टरूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारे । उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरूको टुंगो लागिसकेपछि मतहरुको हिसाब गरेर दलहरूलाई पत्र लेख्ने र दलहरुले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूचीभित्रबाट सांसदको नाम पेश गर्नुपर्ने उल्लेख गरे ।

उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए ।

सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेश गर्ने बताए । उनले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने स्पष्ट पारे । ‘आयोगले वस्तुनिष्ठ योजना बनाएको थियो । ४ गते वस्तुनिष्ठ रुपमा देशभर निर्वाचन सम्पन्न हुन्छ । १३ गतेसम्म नतिजा निकाल्छौँ, १४ गते दललाई पत्र लेख्छौँ समानुपातिकको लागि र २२ गतेसम्म टुग्याउने भनेका थियौँ । सबैकुरा योजना अनुसार नहुने रहेछ, कतै विवादहरु, भए, कतै मत गणनामा विवाद भए, मतका प्रकृतिमा पनि विवाद आयो । समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको मानिँदैन । समानुपातिकमा उम्मेदवार भनेका दल हुन्’, अर्यालले भने, ‘कुनै पनि उम्मेदवारको एक मत बाँकी रहँदासम्म निर्वाचन अधिकृतले नतिजा घोषणा गर्न सक्दैन । सबै निर्वाचन क्षेत्रबाट दलले प्राप्त गर्ने मत यकिन भइसकेपछि हामीले सूत्र प्रयोग गरेर कुन दलको भागमा कति सिट पर्छ टुंग्याउँछौँ । आयोगले चाहेर मात्रै नहुने कुराहरु पनि छन् । केही प्रक्रिया लम्बिन सक्छ । हामीले २६/२७ गतेसम्म वा २८ गतेसम्म हामीले राष्ट्रपति समक्ष पुर्‍याउन सक्नेछौँ ।’